तातोपानी भन्सार नाका अब सधैँका लागि बन्द READ MORE

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



रमेश हतुवाली, काठमाडौँ, ७ फागुन, चीनसँगको नेपालको प्रमुख व्यापारिक नाका तातोपानी अब नखुल्ने पक्का पक्की भएको छ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी गा.वि.स मा अवस्थित चीनको स्वायत्त प्रदेश तिब्बतको चाङ्मुसँग सीमा जोडिएको सो नाका चीनसँग व्यापारिक कारोवार हुने मुलुककै प्रमुख नाका हो । गत वैशाख १२ गतेको महाभूकम्प पश्चात सो नाका बन्द भएपछि मुलुकले दैनिक करोडौं राजस्व गुमाउन बाध्य भएको छ भने हजारौं व्यापारीहरुले ठूलो घाटा व्यहोर्नु परेको छ ।
अघोषित भारतीय नाकाबन्दीका कारण जनताले महङ्गो दाममा दैनिक उपभोग्य सामग्री खरिद गर्नु परेको वास्तविकतालाई मध्यनजर गरी नाका खुलाउन विभिन्न स्तरमा राजनीतिक तथा कुटनीतिक पहल भए पनि सो सम्भव हुन सकेन । बाहिरी रुपमा महाभूकम्प, सीमा क्षेत्रको कमजोर भूबनौट लगायतका कारणहरु देखाउँदै चिनिया अधिकारीहरुले नाका खुलाउन आलटाल गरे पनि वास्तविकता अर्कै रहेको रहस्य खुलेको छ ।

पश्चिमा साम्राज्यवादीहरुले भारत, पाकिस्तान, अफ्गानिस्तान, फिलिपिन्स, कोरिया, जापान लगायतका मुलुकहरुसँग सहकार्यको आडमा चीनलाई घेराबन्दीमा पार्न चौतर्फी रणनीति तर्जूमा गर्दै गरेको र तिब्बत हुँदै चीनको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न दलाई लामालाई उक्साई रहेको सत्यलाई मध्यनजर गर्दै नेपाली सीमाको समेत गलत तत्वहरुबाट प्रयोग हुने भयले तातोपानी नाका बन्द गरिएको श्रोतले जनाएको छ । उसो त महाभूकम्पताका राहत तथा उद्धार कार्यका लागि आएका भारतीय सेनाका विमानहरुले चीनसँग सीमा जोडिएका धेरै क्षेत्रको हवाई उल्लङ्घन समेत गरेका थिए भने नेपाल महाविपत्तिमा फसेको संकटपूर्ण क्षणलाई भारतीयहरुले अवसरको रुपमा लिएका थिए ।

परराष्ट्र मामलाका जानकार तथा वरिष्ठ लेखक हिरण्यलाल श्रेष्ठले राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममै महाभूकम्पको समयमा भारतीय सेनाले नेपालका उत्तरी सीमा क्षेत्रको फोटो तथा भिडियो संकलन गरेको बताए । चीन र नेपाल दुवै राहत तथा उद्धार कार्यमा व्यस्त रहँदा भारतीय सेना भने दुवै मुलुकका कमजोरीहरुलाई कसरी आफ्नो हितमा प्रयोग गर्ने भनि हिसाब किताब तयार पारिरहेको थियो । त्यसैगरी तातोपानी नाका हुँदै दैनिक जसो ओहोर दोहोर गर्ने केही चिनिया तथा तिब्बती जातिका मानिसहरु नै सो नाकालाई उपयोग गर्दै स्वतन्त्र तिब्बतको अभियान संचालन गर्न व्यस्त थिए भने नियमित रुपमा हुने डलर, सुन र रक्त चन्दनको तस्करीले पनि चिनिया अधिकारीहरु हैरान भएका थिए ।

'स्याल पनि कराउनु घोर्ली पनि हराउनु' भने झै घटनाक्रम अगाडि बढिरहँदा रहँदै महाभूकम्प आएको र सोही कम्पनको निहुँमा चीनले तातोपानी नाका बन्द गरेको थियो । विभिन्न राजनैतिक पार्टीका नेता तथा कुटनीतिज्ञ पनि लामो समय तातोपानी नाका बन्द हुनु नेपालकै कमजोरी भएको बताउँछन् । चीनको अखण्डता, स्वतन्त्रता र तिब्बतको सुरक्षामा नेपालले विस्वस्तता गराउन नसक्ने हो भने अब तातोपानी नाका नखुल्ने पक्का छ । यस विषयमा जिज्ञासा राख्दा काठमाडौँ स्थित चिनियाँ दुतावासका अधिकारीहरुले पनि केही बताउन चाहेनन् । वर्तमान सरकारले चिनिया अधिकारीहरुलाई तातोपानी नाका हुँदै गरिने स्वतन्त्र तिब्बत अभियानलाई रोक्न तत्काल गतिलो पहल नगर्ने हो भने तातोपानी नाका सँधैका लागि बन्द हुन सक्छ । यसबाट चीनलाई भन्दा नेपाललाई नै धेरै घाटा पुग्ने निश्चित छ

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "तातोपानी भन्सार नाका अब सधैँका लागि बन्द READ MORE"

Post a Comment

Popular Posts

Popular Posts